दफा ५४
दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने

(१) कुनै व्यक्तिको ऋण तथा निजले व्यहोर्नु पर्ने अन्य दायित्व निजको जायजेथाभन्दा बढी भएमा त्यस्तो जायजेथाबाट ऋण भुक्तानी वा असुल गर्न वा दायित्व फछ्र्यौट गर्न दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने छैन :–
(क) नियमित आम्दानी भएको वा भविष्यमा आम्दानी हुने निश्चितता भएको व्यक्तिले आफ्नो आम्दानीबाट निश्चित अवधिमा ऋण वा अन्य दायित्व भुक्तानी वा फछ्र्यौट गर्न सक्ने कुरा निजले प्रमाणित गरेमा वा त्यस्तो कुरामा साहू सन्तुष्ट भएमा,
(ख) दामासाहीमा पर्न लागेको व्यक्तिले दामासाहीको कारबाही प्रारम्भ गर्नु पर्ने अवस्था सृजना भएको मितिबाट त्यस्तो कारबाही प्रारम्भ नगर्न वा नगराउनको लागि साहूको ऋण भुक्तानीको अवधि र त्यसको स्रोत खुलाई पाँच वर्षसम्मको समयावधि माग गरेमा, वा
(ग) दामासाहीको कारबाही प्रारम्भ गर्न वा गराउन साहूले मञ्जुर नगरेमा ।
(३) यस परिच्छेदको प्रयोजनको लागि “जायजेथा” भन्नाले सम्बन्धित व्यक्तिको तत्काल कायम रहेको वा यस परिच्छेद बमोजिम दामासाही सम्बन्धी कारबाही सम्पन्न हुनुभन्दा अगाडिसम्म आर्जन हुने वा हुन सक्ने सम्पत्ति सम्झनु पर्छ ।
(४) खण्ड (ग) को प्रयोजनको लागि “साहू” भन्नाले एकभन्दा बढी साहू भएको अवस्थामा दामासाहीमा पर्न लागेको व्यक्तिको कूल ऋणमध्ये पचास प्रतिशत वा सोभन्दा बढी ऋण लिनु पर्ने साहू वा साहूहरूको समूह सम्झनु पर्छ ।
(५) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाबाट साहूको ऋण वा दाबी फछ्र्यौट भएकोमा त्यस्तो व्यक्ति साहूको दामासाहीमा परेको मानिनेछ ।
(६) उपदफा (३) बमोजिम दामासाहीमा परेको व्यक्तिको लगत अदालतले त्यस्तो प्रयोजनका लागि खडा भएको दामासाही प्रशासन कार्यालयमा पठाउनु पर्नेछ ।
(७) उपदफा (४) बमोजिमको लगत दामासाही प्रशासन कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।
(८) उपदफा (३) बमोजिम कुनै व्यक्ति दामासाहीमा परेकोमा यस परिच्छेद बमोजिम फछ्र्यौट भएको निजले लिएको ऋण वा निजले पूरा गर्नु पर्ने दायित्व बाहेक अन्य ऋण वा दायित्व निजले भुक्तानी वा पूरा गर्नु पर्ने छैन ।
(९) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति साहूको दामासाहीमा परेपछि निजले शुरु गर्ने व्यापार, व्यवसाय वा कारोबारबाट देहायको दायित्व पूरा गर्नु पर्नेछ :–
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई बुझाउनु पर्ने कर, शुल्क वा दस्तुर,
(ख) अदालतको आदेश बमोजिम बुझाउनु पर्ने दण्ड, जरिबाना वापतको रकम,
(ग) आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको सम्पत्ति हिनामिना गरे वापत बुझाउनु पर्ने रकम,
(घ) चोरी गरेको सामानको बुझाउनु पर्ने रकम,
(ङ) गुठीको सम्पत्ति हिनामिना गरे वापत बुझाउनु पर्ने रकम ।
(१o) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा परेको व्यक्तिले त्यस्तो हैसियतमा कानून बमोजिम गर्न नहुने काम, कारबाही बाहेक अन्य जुनसुकै व्यापार, व्यवसाय वा कारोबार गर्न सक्नेछ ।